काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको भीषण हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ भने आठ जना अझै बेपत्ता छन्।
दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा एक विदेशी नागरिक र दुई नेपाली रहेका छन्। बेपत्ता रहेका व्यक्तिहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।
हिमाल आरोहणका लागि नेपाली गाइडसहित १५ जनाको टोली बिहान नाँ गाउँबाट प्रस्थान गरेको थियो। सो टोली बिहान करिब १०ः ३० बजे हिमपहिरोमा परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थल यलुङ बेस क्याम्पभन्दा माथिल्लो भेगमा रहेको बताइएको छ।
सुरक्षा निकायले मौसम सुधारसँगै बेपत्ताहरूको उद्धार कार्य तीव्र पार्ने तयारी गरेको छ।



