काठमाडौं । लगातारको वर्षा र निर्माणकार्यको ढिलाइका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सवारी जाम चरम अवस्थामा पुगेको छ।
सडक हिलो र चिप्लो बनेपछि सवारी साधनहरू आवतजावत गर्न नसक्दा करिब १० किलोमिटर लामो लाइन लागेको छ।
सडक एकतर्फी, जाम अझै बढ्दै
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, दाउन्ने उकालोमा आधा दर्जनभन्दा बढी सवारी बिग्रिएपछि सडक एकतर्फी भएको छ। प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए, “थप सवारीहरू पनि हिलोमा फसेका छन्। सडक एकतर्फी भएकाले लाइन लगातार बढिरहेको छ।”
हाल पश्चिमबाट पूर्वतर्फ ९बर्दघाट–दुम्किबास० सवारी पास हुँदैछ, तर पूर्वबाट पश्चिम जाने सवारी अझै रोकिएका छन्।
स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार सूचना जारी गर्दै दाउन्ने सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग रोज्न अनुरोध गरेको छ।
प्रहरीले कावासोती, डण्डा, चोरमारा र अरुणखोला आसपासका क्षेत्रमा सवारीहरूलाई रोक्ने काम सुरु गरेको छ, ताकि दाउन्नेतर्फको भीड थप नबढोस्।
दुम्किबासका स्थानीयका अनुसार, दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारी साधनहरू लगातार लाइनमा उभिएका छन्। “हामी घण्टौँ बाटोमा अल्झिएका छौँ। साना गाडीहरू हिलोमा फस्ने, ट्रक र बसहरू बिग्रने क्रम जारी छ,” स्थानीयले बताए।
सडक विभागले चाइना स्टेट कम्पनीलाई दशैंअघि नै यात्रा सहज बनाउने निर्देशन दिएको भए पनि काम ढिलो गतिमा भइरहेको जनाइएको छ। १४ किलोमिटर लामो दाउन्ने खण्डमध्ये हाल पश्चिमतर्फको करिब ३ किलोमिटर मात्र कालोपत्रे, केही भागमा ढलान कार्य सकिएको र बाँकी कच्ची तथा खाल्डा भएका क्षेत्रमा काम अधुरो रहेको छ।
त्यस्तै, चारवटा कल्भर्ट निर्माण अझै नसकिँदा सडक अनेक ठाउँमा एकतर्फी भएको छ। सडकको यस्तो अवस्थाले सामान्य वर्षा पर्दा पनि सवारी सञ्चालनमा कठिनाइ निम्त्याउने गरेको स्थानीय प्रशासनले जनाएको छ। गत पाँच दिनदेखि नै यो खण्डमा सवारी सञ्चालन प्रभावित हुँदै आएको छ। यात्रुहरू घण्टौँ जाममा बस्न बाध्य छन् भने मालवाहक गाडीहरू राजमार्गमै अड्किँदा आपूर्तिमा पनि असर परेको छ।





