देश

मध्यपहाडी लोकमार्गको बिहुँ खण्ड अलपत्र : स्थानीयद्वारा सडक बन्द गर्ने चेतावनी

गलकोट (बागलुङ)। निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँ खण्ड लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

निमार्णाधीन सडक वर्षौंदेखि अधूरो रहँदा आसपासका क्षेत्रमा धुलो, ढुङ्गा र कङ्क्रिटका कारण खेतीपाती बन्द भएको र सुन्तलाखेती नष्ट भएको स्थानीयको गुनासो छ। धुलोको असरले स्वास्थ्य समस्या पनि बढेको भन्दै उनीहरूले शुक्रबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमा ठेकेदारले तत्काल काम सुरु नगरे आगामी मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी दिइएको छ। नौ वर्षअघि सम्झौता गरिएको २६ किमी सडक खण्ड दुई वर्षमा कालोपत्र सक्ने योजना भए पनि अहिलेसम्म १२ किमी पनि कालोपत्र हुन सकेको छैन।

बिहुँ खण्डको १३ किमी सडक पाँच पटक म्याद थपेर पनि पूरा नभएपछि ठेक्का रद्द गरी नयाँ सम्झौता गरिएको थियो। तर नयाँ ठेक्का सम्झौता भएको एक वर्ष बितिसक्दा पनि भौतिक प्रगति १२ प्रतिशत मात्र भएको स्थानीयले बताएका छन्।

काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले तत्काल काम अघि बढाउन माग गर्दै चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। टोलीमा स्थानीय प्रतिनिधि, सरोकारवाला नागरिक र किसानहरू सहभागी थिए।

प्रमुख जिल्ला अधिकारी गुरुङले मङ्सिरसम्म मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, निर्माण व्यवसायी र स्थानीय प्रतिनिधिबीच बैठक गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमीमध्ये अधिकांश भाग कालोपत्र सम्पन्न भए पनि बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक अझै अधूरो छ।

यो खण्ड विसं २०८१ असार २१ गते तामाङ–रिजाल भगवती जेभीसँग दुई वर्षमा सक्ने गरी २१ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। तर, आठ वर्ष बित्दा पनि सडक कालोपत्र नहुँदा स्थानीयले कडा असन्तुष्टि जनाउँदै सडक बन्दको चेतावनी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *