काठमाडौँ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज (हर्क) साम्पाङ नेतृत्वमा गठन भएको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई औपचारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम सो पार्टीलाई शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिएको हो। हाल आयोगमा १२५ दल दर्ता रहेकोमा साम्पाङ नेतृत्वको पार्टीले पछिल्लो रूपमा प्रमाणपत्र प्राप्त गरेको हो।
जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन दिएका थिए, तीमध्ये श्रम संस्कृति पार्टीले सबैभन्दा पहिले दर्ता प्रमाणपत्र प्राप्त गरेको आयोगले जनाएको छ।
दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले पत्रकारहरूसँग भने, “हामीले २८ सदस्यीय कार्यसमिति गठन गरेका छौँ। अब देशका लागि काम गरेर देखाउँछौँ। देश र जनताप्रति हामी इमानदार छौँ।”
साम्पाङले श्रम, इमानदारी र जनसरोकारका विषयलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सार्ने बताएका छन्।




