काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका शीर्ष पदाधिकारीहरूलाई केन्द्रीय कार्यसमितिलाई ‘बन्धक’ बनाएको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठक पुनः दुई दिन सरेपछि शुक्रबार भ्रातृ संगठनका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा उनले यस्तो टिप्पणी गरेका हुन्।
महरका अनुसार, राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नुपर्ने समयमा कांग्रेसभित्र अनिर्णय र निष्क्रियता हावी भएको छ। “बैठकलाई अनिर्णयको बन्दी बनाएर पार्टीलाई कमजोर बनाउने खेल भइरहेको छ,” उनले भने।
उनले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका तत्काल अघि सार्न नेतृत्वसँग आग्रह गर्दै भने, “कार्यतालिका समयमै नआएकाले बैठक बारम्बार स्थगित हुँदैछ। यसले पार्टीको गतिशीलता रोकिएको छ।”
महरले कांग्रेसको विधानअनुसार चार वर्षमा सम्पन्न हुनुपर्ने महाधिवेशन आजसम्म नहुँदा जिम्मेवारी केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरूमा जाने उल्लेख गरे। सभापति, उपसभापति, महामन्त्रीलगायतका ‘भी–फाइभ’ पदाधिकारीहरूले समयमा काम गर्न नसकेको भन्दै उनले ती पदाधिकारीहरूले राजनीतिक नैतिकताको आधारमा जिम्मेवारी लिनुपर्ने बताए।
“विधानले दिएको जिम्मेवारी पूरा गर्न असफल भएकाले सदस्यता वितरणदेखि महाधिवेशन तयारीसम्म ढिलाइ भयो,” उनले भने, “यस्तो अवस्थाको जिम्मा नेतृत्वले लिनै पर्छ।”
महरले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्ने विषयमा खुला छलफल हुनुपर्ने सुझाव दिए। उनका अनुसार, विभिन्न विचार समूहका धारणा एकीकृत गरी चाँडो निर्णयमा पुग्न सके मात्र कांग्रेस बलियो बन्न सक्छ।



