काठमाडौं । जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपपछि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउने निर्णयबाट पछि हटेको छ।
शनिबार बेलुकी महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय खाली गर्न भनेको थियो। झन्डै सयजना प्रहरी बसिरहेको कार्यालयमा के गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, “ट्राफिक प्रहरी त्यहाँ २०३० सालदेखि बसिरहेको थियो, गुठीको जग्गा हो।”
ट्राफिक प्रहरीलाई हटाउने तयारीका क्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग पनि अधिकारीहरूले छलफल गरेका थिए। त्यसपछि प्रशासनले तत्काल प्रहरी हटाउन नहुने भन्दै महानगरलाई पत्र लेखेको थियो। उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले भने, “जिल्ला प्रशासन कार्यालयबाट पत्र गएको थियो, त्यसपछि अहिलेलाई रोकिएको छ। अहिलेसम्म प्रहरीलाई अन्य विकल्प पनि छैन।”
महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय नजिकै अनधिकृत रूपमा बनाइएका संरचना हटाउन शुक्रबार डोजर चलाएको थियो। साथै, थापाथलीका अन्य अनधिकृत संरचनाहरूलाई सात दिनभित्र खाली गर्न महानगरले ‘अल्टिमेटम’ पनि दिएको छ।



