बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा शनिबार भएको बस दुर्घटनामा घाइते भएका सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृतक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशी हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटका अनुसार घाइते जोशीको अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि धनगढी पठाइएको थियो। तर, उपचारका क्रममा शनिबार राति १० बजे उनको मृत्यु भएको हो।
कोल्टीबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकिएको बेला सामान छतमा राख्ने क्रममा एकाएक पछाडि सर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य आठ जनालाई पनि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन्।
घाइतेहरूमा स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा–६ छातीकोटका १९ वर्षीय उमेश भाट, बूढीनन्दा–५ बस्ने २४ वर्षीया जमुना मल्ल र सोही ठाउँकी सात वर्षीया लक्ष्मी मल्ल रहेका छन्।
त्यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानीकी २२ वर्षीया पवित्रा सिंह, उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा–७ सास्ताकी ४५ वर्षीया इसरा देवी सुनार पनि घाइते भएको अस्पतालले जनाएको छ।
दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



