देश

कञ्चनपुरमा आजदेखि धान खरिद सुरु

दोधारा चाँदनी (कञ्चनपुर)। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि कञ्चनपुरका किसानबाट धान खरिद सुरु गरेको छ।

कम्पनीका शाखा प्रमुख महिकरण महराका अनुसार सरकारले तोकेको समर्थन मूल्यअनुसार आज (आइतबार)देखि धान खरिद कार्य प्रारम्भ गरिएको हो। उहाँका अनुसार पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्ने योजना छ। “पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गरिन्छ, आवश्यकता अनुसार पछि थप गर्न सकिन्छ,” महराले बताउनुभयो।

गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष कम्पनीले खरिद लक्ष्य घटाएको हो। गत वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिए पनि केवल २० प्रतिशत अर्थात् दुई हजार ९५१ क्विन्टल मात्र खरिद भएको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा पनि संस्थानले १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा तीन हजार क्विन्टल मात्र खरिद गर्न सकेको थियो। यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३,४६३ तोकिएको छ।

कञ्चनपुरमा हाल करिब ४८ हजार हेक्टरमा धानखेती भइरहेको छ भने उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको कृषि कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *