देश

काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छ: विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन् ।

पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताए ।

उनले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुङ्गो लगाउन महासमिति सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव समेत गरे । महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझावलाई नमान्ने हो भने महासमितिको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुङ्गो लगाउन उपयुक्त हुने उनको भनाई थियो ।

महामन्त्री शर्माले भने ‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि । जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिट्दा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली काँग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसाबले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबै भन्दा पहिले २५ गते वक्तव्य कसेको थियो, काँग्रेसको नै थियो । त्यस लगत्तै सबैभन्दा पहिले जुम बैठक कसेको भएको थियो रु काँग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो रु काँग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रूपमा असोज ३ गते बैठक कसले गरेको थियो रु केन्द्रीय कार्यालयमा खरानी पन्छाउँदै काँग्रेसले नै गरेको थियो ।

अहिले हामीले समय लगाएर गर्नुको पछिल्तिर पनि कारणहरू छन् । सबैलाई एकताबद्ध गर्नु छ । फरक फरक विचारहरू छन् । सबैलाई एक ठाउँमा राख्नु छ । मन्थन गर्नुछ । त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ । काँग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ । नेपाली काँग्रेस भित्र फरक फरक मतहरू विगतमा पनि थिए । अहिले पनि छन् । भविष्यमा पनि रहन्छ । नेपाली काँग्रेस पार्टी भित्रको सौन्दर्यलाई हेर्नु न । पार्टीको आदरणीय सभापतिजीले अहिलेको राष्टिय परिस्थिति ध्यानमा राखेर मैले पोस्ट गर्दा पनि भनेको थिए–केन्द्रीय समितिमा बहुमत त छदैथियो त । केन्द्रीय समितिको बैठक बसेर तपाई छोडनुस भन्न परेन त । देशभरका महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । दर्ता गरेकै थिएन त । कुन राजनीतिक दलमा देख्नुभएको छ । फस्ट म्यानले अहिलेको परिस्थितिमा म मेरो काँधको जिम्मेवारी अरूलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नु भएको छ ।

कुनैको पनि छैन । त्यसैले नेपाली काँग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढङ्गले अहिलेको विषयवस्तु र समयलाई हेर्छ । त्यो हेर्ने कार्यक्रमको सुरुवात नेपाली काँग्रेस पार्टी सभापतिको सारगर्वित स्टेटमेन्टबाट भइसकेको छ । अहिलेको कार्यवाहक सभापति पूर्णबहादुर खड्कोको नेतृत्वमा हामी छलफलहरू गरिरहेका छौँ । छलफलहरू हुन दिनुस् । फरक फरक विचार छन् । फरक फरक विचार राख्दै गर्दा मध्यमार्गी ढंगको कुरा मैले राखिरहेको तपाईँहरूले सुन्नु भएकै छ । कसैले मङ्सिरमा नै गरौँ भन्ने होला । कसैले वैशाखमा पुयाउ भन्नु भयो होला । मैले के भनेको छु भने मङ्सिरमा गर्न ढिलो हुन लाग्यो । चार वटा विकल्प छन् । मङ्सिरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जाऊ, त्यो पनि ठिक छ । हुन्न भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने । एउटा केन्द्रीय समितिले बोलाउने । अर्को महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ बिपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो । जुन दिन हो । त्यही ऐतिहासिक दिनको दिन गरौँ भने ।

त्यसमा आज मैले थप के कुरा भनेको छु भने भोलीदेखि बैठक बस्ने कुरामा सहमतिपूर्वक प्रस्ताव लिएर जाऊ । मङ्सिर वा वैशाख कहिले गर्ने भनेर सहमतिपूर्वक प्रस्ताव लिएर जाऊ । तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । त्यसलाई केन्द्रमा राखेर जाऊ । त्यो गर्न सकिएन भने केन्द्रीय समितिको बहुमत आफ्नो ठाउँमा छ । महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ । दुवै यो ठाउँमा समाउने भन्दा मध्यमार्गीबाट यी दुवै भन्दा माथि महासमिति छ । डिजिटल भोटिङ सिस्टमबाट जान सकिन्छ । महासमितिमा युरोप अमेरिकादेखि खाडी मुलुकसम्म रहेका ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरूको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि वैशाखमा पुयाउने भनेर हामीले राय लिन सक्छौँ । यो कुरा मैले आजको बैठकमा पनि भनेको छु ।’

महामन्त्री शर्माले आफूहरूले बिपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रस्तावमा जोड दिएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *