काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै बेग्लै भेला बोलाएको छ। नेता खनाल र घनश्याम भुसाल पक्षको भेला अहिले सुकेधारामा जारी छ।
खनाल पक्षले बेग्लै भेला आयोजना गरेसँगै नेकपा (एस) विभाजनको अवस्थामा पुगेको देखिन्छ। भेलामा सम्मानित नेता खनाल भने अहिलेसम्म उपस्थित भएका छैनन्।
भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत नेताहरू सहभागी रहेका छन्।
अध्यक्ष माधवकुमार नेपालले हिजो बहुमतको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए। सो निर्णय लगत्तै नेता खनालले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका थिए।
आजको भेलाले आगामी राजनीतिक रणनीति र नयाँ संरचनासम्बन्धी योजना तय गर्ने बताइएको छ।




