काठमाडौं। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिए ।
चौधरीले आफूहरू थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिर गरे । कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने उनको भनाइ छ ।
“अहिले चुनाव लड्न दिन्न भन्छन् । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी । कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,” उनले भने, “रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु– फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?”
संरक्षक चौधरीले जेनजी आन्दोलन आम नागरिकको विद्रोह भएको दाबी समेत गरे ।




