देश

कम्ती रोमाञ्चक छैनन् मार्फा गल्ली, पर्यटकको भीडले भरियो गाउँ

मुस्ताङ। अचेल मुस्ताङको मार्फा गाउँ पर्यटकको मुख्य आकर्षण बनेको छ। दुई वर्षअघि सुनसान जस्तो देखिने मार्फामा अहिले गल्लीभित्र पर्यटकको चहलपहल देखिन्छ। मुक्तिनाथ दर्शनपछि पर्यटकहरू मार्फाको सांस्कृतिक र प्राकृतिक सौन्दर्यता अवलोकन गर्न यहाँ रोक्ने गरेका छन्।

मार्फा गाउँको गल्लीभित्र सदिंयौ वर्ष पुराना ढुङ्गा र माटोले निर्मित घरहरू, परम्परागत सांस्कृतिक मौलिकता, स्याउबगैंचा र भूमिगत बिजुली प्रणालीले पर्यटकको ध्यान तानिरहेको छ। दसैँ, तिहार र छठजस्ता पर्वमा दैनिक करिब रु १५ लाखसम्मको आर्थिक कारोबार हुने गरेको स्थानीयबासी आइतप्रसाद हिराचनले जानकारी दिए।

हाल, सडक पहुँच सहज भएपछि मार्फा भित्रका पर्यटक लक्षित होटल, स्याउ बगैंचा अवलोकन र आधुनिक पर्यटन सुविधासमेत सञ्चालनमा आएका छन्। गाउँपालिकाले पुराना घर संरक्षण गर्न नियम बनाएको छ।

पर्यटकहरू, विद्यार्थीहरू र चलचित्र छायाङ्कन टोलीले मार्फाको मौलिक संस्कृति, गल्लीभित्रको जीवनशैली र प्राकृतिक सौन्दर्यको अनुभव गर्दै टिकटक र फोटो बनाइरहेका छन्। स्याउबगैंचा, ध्योलिङ बुद्धिस गुम्बा, डिस्टिलरी र शीतोष्ण बागवानी विकास केन्द्रले मार्फालाई कृषिसँगै पर्यटनको गन्तव्यका रुपमा स्थापित गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *