काठमाडौँ। गोपाष्टमी पर्वका अवसरमा स्थानीय गाई संरक्षणको सङ्कल्पसहित पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना सम्पन्न भएको छ। पशुपतिनाथका मूलअर्चक गणेश भट्टले पूजाआराधनासहित स्थानीय गाईको संरक्षणको कामना गर्नु भएको छ।
गोरखा जिल्लाबाट सुरु गरिएको गोसंवर्द्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान मन्दिरमा विधिपूर्वक पूजाआराधना गरिएको हो। यात्रा अवधिमा गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली, चुँदीघाटस्थित ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाआराधना गरी गाईलाई राजधानीका विभिन्न भागमा घुमाइएको थियो।
थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गाईको विधिपूर्वक पूजाआराधना गरिएको थियो। कार्यक्रम संयोजक आचार्य गोविन्द रेग्मीका अनुसार यात्रा सकिएपछि स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने योजना रहेको छ।



