काठमाडौँ । मुस्ताङको दुर्गम ‘हिडन भ्याली’ क्षेत्रमा हिउँले पदमार्ग अवरुद्ध भएपछि तीन जना बेलायती महिला सहित १२ नेपाली पर्यटक अलपत्र परेका छन्। नेपाली सेनाले हवाई उद्धारको प्रयास जारी राखेको जनाएको छ।
सैनिक प्रवक्ता कर्नल राजाराम बस्नेतका अनुसार उद्धारका लागि हेलिकोप्टरमार्फत प्रयास भइरहेको छ, तर लगातारको हिमपात र खराब मौसमका कारण कठिनाइ आइरहेको छ। “उनीहरूको अवस्था हाल सामान्य छ,” उनले भने, “ट्राभल कम्पनीसँग समन्वय गरी सुरक्षित उद्धारका लागि तयारी भइरहेको छ।”
पर्यटकहरू म्याग्दी हुँदै धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ प्रवेश गर्ने क्रममा ‘हिडन भ्याली’ क्षेत्रमा अड्किएका हुन्। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीस्थित इटाली आधार शिविर पार गरी मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा पुग्ने क्रममा सोमबार रातिदेखि परिरहेको लगातार हिमपातका कारण पदमार्ग पूर्ण रूपमा पुरिएको हो।
उद्धार प्रयासको क्रममा स्थानीय प्रशासन र सेनाको समन्वयमा वैकल्पिक स्थलबाट हवाई मार्ग प्रयोग गर्ने तयारी भइरहेको जनाइएको छ।
यसैबीच, मनाङ जिल्लामा पनि लगातारको हिमपातका कारण फसेका करिब १,५०० पर्यटकलाई उद्धार गरिएको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ र हुम्दे क्षेत्रका विभिन्न भागमा फसेका करिब २०० विदेशी पर्यटकसहित १,५०० जनालाई सेनाको उद्धार टोलीले सुरक्षित स्थानमा पुर्याएको हो।
मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग सहकार्य गर्दै उद्धार कार्य सम्पन्न गरेको हो।
सेनाले दुर्गम हिमाली क्षेत्रका पर्यटन पदमार्गमा मौसम सुधार हुनासाथ मुस्ताङतर्फ पनि उद्धार कार्य तीव्र पार्ने जनाएको छ।




