कर्णाली प्रदेश

“सार्वजनिक र निजी सम्पत्तिको क्षति अपराध हो, राजनीति होइन” — मुख्यमन्त्री कँडेल

कर्णाली ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक दृष्टिले व्याख्या नगर्न आग्रह गरेका छन्।

सुर्खेतमा आज जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग भेट गर्दै मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिबारे निष्पक्ष छानबिन गर्न आयोगलाई सुझाव दिए। “राजनीतिक आन्दोलनको नाममा नागरिकको सम्पत्ति जलाउने, लुटपाट गर्ने कार्य कुनै पनि दृष्टिले जायज ठहरिन सक्दैन,” उनले भने, “अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ।”

मुख्यमन्त्री कँडेलले विगतका राजनीतिक आन्दोलनहरूमा पनि नागरिक सम्पत्तिमा यस्तो क्षति नभएको उल्लेख गर्दै अपराधजन्य कार्यमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा जोड दिए। उनका अनुसार, “निष्पक्ष र तथ्यपरक छानबिन नै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्ने एक मात्र उपाय हो।”

जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर र सम्पत्तिमाथिको आक्रमणलाई स्पष्ट रूपमा आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गर्ने बताए। उनले भने, “व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाट वा चोरी राजनीतिक होइन, आपराधिक कृत्य हो। आयोगले त्यसको वस्तुगत मूल्याङ्कन गर्दै प्रतिवेदन तयार पार्नेछ।”

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म घटनासम्बन्धी फोटो, भिडियोलगायत प्रमाण सङ्कलन गरिएको जानकारी दिए। उनका अनुसार, संलग्न व्यक्तिहरूको पहिचान अन्तिम चरणमा पुगेको छ र केही दिनमै कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।

मुख्यमन्त्री कँडेलका अनुसार, “राजनीतिक आन्दोलनको आत्मा नागरिक अधिकार र परिवर्तनका मागमा हुन्छ, तर त्यसको नाममा अपराध र लुटपाटको संस्कृति फैलिनु खतरनाक संकेत हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *