काठमाडौं। मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रसहित उपल्लो मुस्ताङमा गएरातिदेखि हिमपात भइरहेको छ। वर्षासँगै सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयहरूले बताएका छन्।
जिल्लामा लगातार हिमपात भइरहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै पदयात्रीहरूलाई हालका मौसममा यात्रामा ननिस्किन आग्रह गरेको छ।
मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, मुस्ताङ–डोल्पा, याकखर्क, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गलगायत क्षेत्रहरूमा हल्कादेखि भारी हिमपातको पूर्वानुमान मौसम विभागले गरेको छ।
भुसालले भने, “उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकोले पदयात्री र पर्यटकलाई जोखिम हुन सक्ने भएकाले यात्रा नगर्न अनुरोध गरिएको हो।”
प्रशासनले मुस्ताङका अन्य भागमा पनि बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीलाई मौसमसम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्न सुझाएको छ। तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रा गर्नेको संख्या बढेपछि सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।




