काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र विभाजन वा बिग्रह हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेस एकढिक्का रहँदै अघि बढ्ने दाबी गरे। “नेपाली कांग्रेस पार्टी बिग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने बिल्कुलै नसोचे हुन्छ,” शर्माले भने, “मैले यो व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन, नेपाली कांग्रेसको महामन्त्रीको रूपमा म स्वदेश र विदेशमा रहेका सबै शुभेच्छुकहरूलाई भन्न चाहन्छु— कांग्रेस एकढिक्का रहन्छ।”
उनले पछिल्ला राजनीतिक घटनाक्रमले पार्टीलाई आत्मसमीक्षा र परिमार्जनको दिशामा लैजाने अवसर प्रदान गरेको बताउँदै कांग्रेस अब समाजमा रूपान्तरण ल्याउने शक्तिको रूपमा अघि बढ्ने उल्लेख गरे। “परिस्थितिअनुसार आफूलाई बदल्छ, र समाजलाई बदल्ने गरी अगाडि जान्छ,” उनले भने।
शर्माले जेनजी आन्दोलनपछि पार्टीभित्र देखिएका विभिन्न मतभेदहरूलाई छलफल र सहमतिको माध्यमबाट समाधान गर्ने तयारी भइरहेको जानकारी पनि दिए। “फरक मत आउँछ, फरक विचार आउँछ, तर नेपाली कांग्रेस यस्तो अवस्था आउँदै गर्दा सहज र हार्दिक छलफलमार्फत निष्कर्षमा पुग्छ,” उनले जोड दिए।




