विश्व

दिल्लीमा पहिलो पटक कृत्रिम वर्षाको तयारी, वायु प्रदूषण नियन्त्रणको नयाँ प्रयास

काठमाडौं । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकार अब क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने तयारीमा जुटेको छ।

दिल्लीको वायु गुणस्तर (PM 2.5) जनवरीपछिकै सबैभन्दा खराब बनेपछि सरकारले आपतकालीन उपायको रूपमा यो प्रविधि अपनाउने घोषणा गरेको हो।

मुख्यमन्त्री रेखा गुप्ताले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बताएकी छिन्, “यदि मौसम अनुकूल रह्यो भने दिल्लीमा अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा गरिनेछ, जसले राजधानीको वायु प्रदूषणविरुद्धको लडाइँमा नयाँ अध्याय सुरू गर्नेछ।”

क्लाउड सिडिङ प्रविधिमा सिल्भर आयोडाइड वा नुनका कणहरू बादलभित्र छरिन्छन्, जसले वर्षा उत्पन्न गर्न सहयोग गर्छ। दिल्लीमा यसका लागि आईआईटी कानपुर र दिल्ली सरकारबीच सहकार्य भइरहेको छ। परिमार्जित सेसना–२०६ एच विमान मेरठमा तैनाथ छ, जसले पहिचान गरिएका बादलमा सिडिङ पदार्थ छर्नेछ।

हालै गरिएको परीक्षण उडान सफल भएपछि सबै प्राविधिक तयारी पूरा भएको दिल्ली सरकारले जनाएको छ। वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले भने, “अब हामी मौसमको प्रतीक्षामा छौँ, उपयुक्त बादल आएसँगै सिडिङ सुरु हुनेछ।”

विशेषज्ञहरूका अनुसार कृत्रिम वर्षाले AQI स्तर ५० देखि ८० अंकसम्म घटाउन सक्नेछ। तर यसको प्रभाव अस्थायी मात्र हुने भएकाले दीर्घकालीन समाधानका लागि संरचनात्मक सुधार आवश्यक रहेको चेतावनी दिइएको छ।

भारतमा यसअघि महाराष्ट्र, कर्नाटक र आन्ध्र प्रदेशजस्ता राज्यहरूले पनि खडेरीका समयमा यो प्रविधिको प्रयोग गरेका थिए। तर दिल्लीजस्तो सहरी क्षेत्रमा यसको वैज्ञानिक प्रभावकारिता अझै परीक्षणमै रहेको बताइन्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) र वायु गुणस्तर व्यवस्थापन आयोग (CAQM) ले क्लाउड सिडिङलाई मुख्य समाधान नभई प्रयोगात्मक उपायका रूपमा मात्र लिन दिल्ली सरकारलाई सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *