काठमाडौं । जेनजी आन्दोलनको दौरान भिमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ। मृतक २८ वर्षीय नारायण कुमाल चितवनको कालिका नगरपालिका–४, पदमपुरका स्थानीय हुन्।
गैँडाकोट नगरपालिका क्षेत्रको इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी युवराज खड्काले जानकारी दिए।
कुमाललाई बलात्कार कसुरमा अदालतले १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका थिए।
स्रोतका अनुसार कुमाल २०७४ साउन ३ गते पक्राउ परेका थिए। कारागारबाट भागेपछि उनी फरार जीवन बिताइरहेका थिए। घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयहरूले राति अबेर धारिलो हतियारको प्रहारपछि घटनास्थलमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट प्रयोग भएका हतियारका केही टुक्रा बरामद गरेको र घटनामा थप व्यक्ति संलग्न हुन सक्ने आशंका व्यक्त गरेको छ।
यस घटनाले हालैका हिंसात्मक गतिविधिसँगै कारागार सुरक्षाको अवस्थाबारे नयाँ प्रश्न उठाएको छ।




