काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म देशभर दर्ता भएका १२४ राजनीतिक दलको अद्यावधिक सूची सार्वजनिक गरेको छ । सूचीले नेपालको दल–संख्या त देखाउँछ, तर सक्रियताभन्दा बढी नाम मात्रै बाँकी रहेका कागजी दलहरूको भीड पनि त्यत्तिकै उजागर गर्छ ।
आयोगले सार्वजनिक गरेको विवरणमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र निर्वाचन चिन्ह समावेश गरिएको छ । तर विश्लेषकहरू भन्छन् — संविधानले मान्यता दिएका दलहरू मध्ये आधाभन्दा बढी न त संगठनात्मक रूपमा सक्रिय छन्, न त राजनीतिक रूपमा प्रभावकारी।
ठूला दलको प्रभुत्वबीच साना दलको अस्तित्व संकट
सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी (अध्यक्ष नारायणमान बिजुक्छे, चिन्ह—मादल) रहेको छ, जुन लगातार संगठनात्मक रूपमै सक्रिय रहँदै आएको छ । तर त्यसपछि रहेका धेरै दलको नाम प्रायः चुनावको समयमा मात्र सुनिन्छ ।
नेकपा (एमाले) २३औँ नम्बरमा, माओवादी केन्द्र २५औँमा, नेपाली कांग्रेस २६औँमा र राष्ट्रिय जनमोर्चा २७औँमा रहेका छन् — यी दलहरू हाल पनि राष्ट्रिय राजनीति निर्धारण गर्ने प्रमुख शक्तिका रूपमा छन् । तर त्यसपछि सूचीमा रहेका अधिकांश दल संगठनभन्दा कागजमै सीमित छन् । कतिपय दलहरूले कार्यालयसमेत बन्द गरेका छन्, तर दर्ता भने कायम छ ।
आयोगको सूचीमा विवादास्पद रूपमा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीको दल कायम देखिएको छ, यद्यपि उनी स्वयं अहिले विप्लव समूहसँग आवद्ध भइसकेका छन् । त्यस्तै, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि अब नेकपा (एस) सँग गाभिएका छन्, तर उनको पार्टी अझै दर्ता सूचीमै छ । यसले आयोगको अद्यावधिक प्रणालीमा राजनीतिक सुस्पष्टता भन्दा कानुनी औपचारिकतालाई प्राथमिकता दिइएको देखाउँछ ।
सूचीमा केही नयाँ राजनीतिक दल पनि छन्, जसले हालै निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
तीमध्ये जनता समाजवादी पार्टी (अध्यक्ष अशोककुमार राई) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (अध्यक्ष राजेन्द्र महतो, चिन्ह—ग्यास सिलिन्डर) उल्लेखनीय हुन् ।
सबैभन्दा नयाँ दलको रूपमा जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसका अध्यक्ष दीपककुमार साह हुन् । यो दल जनमत पार्टी फुटेर बनेको हो, जसले तराईमा साना समूहको प्रतिनिधित्व गर्ने दाबी गरेको छ । तर राजनीतिक विश्लेषकहरू भन्छन् — “नयाँ दलहरूको नाम बढ्दै जाँदा राजनीतिक प्रतिस्पर्धा होइन, विखण्डनको प्रवृत्ति बढेको छ ।”
सूचीमा लोकप्रियताको हिसाबले चर्चा पाइरहेका दलहरू पनि छन् — राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने, चिन्ह—घण्टी),नेपाल समाजवादी पार्टी (डा. बाबुराम भट्टराई, चिन्ह—खुलेको आँखा),जनमत पार्टी (डा. चन्द्रकान्त राउत, चिन्ह—लाउडस्पिकर र विवेकशील साझा पार्टी (समिक्षा बास्कोटा, चिन्ह—तराजु) लगायतका दलहरू पनि समावेश छन् ।
यी दलहरूले विगतका ठूला दलप्रतिको जनअसन्तुष्टिलाई भुनाउँदै वैकल्पिक राजनीति गर्ने प्रयास गरिरहेका छन्, तर राष्ट्रिय संगठन विस्तारका दृष्टिले अझै कमजोर छन् । निर्वाचन आयोगले स्पष्ट गरेको छ — यी सबै दल फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन योग्य छन् । तर कानूनी दर्ता मात्र पर्याप्त छैन, आयोगका अनुसार दलहरूले वार्षिक प्रतिवेदन, लेखापरीक्षण र नवीकरणका प्रक्रिया पनि पूरा गर्नुपर्नेछ ।
त्यसकारण धेरै दलहरू औपचारिक रूपमा दर्ता भए पनि व्यवहारिक रूपमा निष्क्रिय या मरेका दलका रूपमा रहेका छन् । नेपालमा अहिले १२४ दल छन् — यो संख्या राजनीतिक विविधताको सूचक हो, तर स्थायित्व र प्रभावशीलताका हिसाबले चिन्ताजनक अवस्था हो । राजनीतिक विश्लेषकहरूले यसलाई लोकतान्त्रिक विस्तारभन्दा बढी राजनीतिक विखण्डनको प्रतीक मान्ने गरेका छन् । निर्वाचन आयोगको सूचीले देखाएको यथार्थ स्पष्ट छ —नेपालमा दलहरू जन्मिन्छन्, तर संस्थागत राजनीति बिरलै टिक्छ ।
दर्ता-कायम-राजनीतिक-दल-20820702-compressed




