देश

सोलुखुम्बु दुर्घटनामा ज्यान गुमाएकी तेस्री किशोरीको पनि पहिचान, तीन युवतीको निधनमा गाउँ शोकमग्न

काठमाडौं । बिहीबार साँझ सोलुखुम्बुमा भएको बोलेरो दुर्घटनामा मृत्यु भएकी तेस्री किशोरीको पनि सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार, निधन भएकामध्ये पहिचान खुल्न बाँकी रहेकी महाकुलुङ गाउँपालिका–३ की १७ वर्षीया निर्जला राईको पनि परिचय पुष्टि भएको हो।

यसअघि सोही गाउँपालिकाकी १६ वर्षीया हबी राई र २० वर्षीया शान्ति राईको मृत्यु भइसकेको थियो। एकै गाउँकी तीन युवतीको निधनसँगै स्थानीय बासिन्दा शोकमग्न बनेका छन्। घाइते भएका अन्य ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटना माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ गइरहेको बोलेरो गाडी दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ। घटनास्थल दुर्गम र सडक साँघुरो भएको कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण प्रारम्भिक रूपमा ब्रेक फेल वा सडकको अवस्था कमजोर हुन सक्ने अनुमान गरिएको छ।

स्थानीयबासीले भने सडक मर्मत र सुरक्षाको बेवास्ता नै निरन्तर दुर्घटनाको कारण बन्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।एक स्थानीय युवाले भने, “हरेक वर्ष यस्तै दुर्घटना दोहोरिन्छ, तर सडक न त चौडा हुन्छ न त सुरक्षाका उपाय थपिन्छन्।” सोलुखुम्बु प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *