देश

माइतीघरमा जेन–जी शहीदको सम्झनामा सामूहिक भाइटीका, तस्वीरमा टिका लगाउँदै श्रद्धाञ्जली

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको सम्झनामा आज काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जेन–जी युनाइटेड परिवर्तन समूहले गरेको हो।

कार्यक्रममा सहभागी जेन–जी अभियानका अग्रपंक्तिका युवाहरूले शहीदहरूको तस्वीरमा भाइटीका लगाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।तस्बिरहरू अगाडि दीप प्रज्वलन, फूलमाला अर्पण र शान्तिपूर्ण मौनधारण पनि गरिएको थियो। कार्यक्रममा सहभागीहरूका अनुसार यो भाइटीका केवल संस्कारिक विधि मात्र नभई त्याग, एकता र परिवर्तनका प्रतीकहरूको स्मरण हो। एक अभियन्ताले भने, “हामीले आज शहीदहरूलाई दाजुभाइझैं सम्झ्यौं, उनीहरूको सपना साकार पार्न यहीनै हाम्रो प्रतिबद्धता हो।”

माइतीघरमा भावनात्मक माहोल

माइतीघरमण्डलमा बिहानैदेखि सहभागीहरू भेला भएका थिए। केहीले शहीदहरूको नाम लेखिएको पातामा टिका लगाइरहेका थिए भने अरूले रङ्ग, फलफूल र फूलको थाल तयार पारेका थिए।
भाइटीकाको रङसँगै मालश्री धुन र शान्तिपूर्ण गीतहरू बजाइएका थिए, जसले स्थललाई भावनात्मक बनाएको थियो।

आन्दोलनका सहिद र नयाँ पुस्ताको प्रतिबद्धता

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो भाइटीका केवल संस्कृतिको उत्सव मात्र होइन, आन्दोलनमा बलिदान दिनेहरूप्रति सम्मानको प्रतीक पनि हो।”

जेन–जी आन्दोलनका क्रममा जीवन गुमाउने र घाइते हुने युवाहरूको सपना अझै अधुरो रहेको भन्दै उनीहरूले शान्तिपूर्ण परिवर्तनका लागि निरन्तर संघर्ष गर्ने संकल्प व्यक्त गरे।

समाप्तिमा सामूहिक शपथ

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “शहीदहरूको सपना साकार पार्ने” प्रतिज्ञासहित सामूहिक मौनधारण गरेका थिए। माइतीघरमण्डल नजिकैका सर्वसाधारणले पनि फूल चढाएर शहीदहरूको सम्झनामा सहभागीता जनाएका थिए। यो वर्षको भाइटीकामा माइतीघरले आन्दोलन र सम्बन्धबीचको भावनात्मक सेतु बनेको दृश्य प्रस्तुत गर्‍यो — जहाँ शहीदका तस्वीरहरू भाइको स्थानमा र न्यायको सपना टीकाको रङमा मिसिएको देखिन्थ्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *