काठमाडौं । त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मंगलबार काठमाडौंमा औपचारिक बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरूले दशैं–तिहारको व्यस्तताबीच पनि तीन हप्ताको प्रशिक्षणमा उत्कृष्ट मेहनत गरेको उल्लेख गर्दै आगामी खेलमा राम्रो प्रदर्शनको विश्वास व्यक्त गरे।
न्यौपानेका अनुसार विदेशी खेलाडीहरू स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएका कारण टोली अझ सशक्त बनेको छ। उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूको तालिममा विशेष ध्यान दिएको पनि बताए।
टोलीकी कप्तान सावित्रा भण्डारीले पनि अधिकांश नयाँ खेलाडी भएकोले आगामी खेलमा टोली उत्साहित रहेको बताइन्। उनले अघिल्ला खेलमा देखिएका कमजोरी सुधार्दै मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
एन्फाका अनुसार नेपाली टोलीले कार्तिक ७ गते इरान राष्ट्रिय महिला फुटबल टोली, र कार्तिक १० र १३ गते भारत राष्ट्रिय महिला फुटबल टोलीसँग त्रिदेशीय मैत्रीपूर्ण खेल खेल्नेछ।




