देश

यमपञ्चकको तेस्रो दिन : मनाइयो कुकुर तिहार

काठमाडौँ। यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक बैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा स्थापित भएको छ ।

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । आज दिउँसो तीन बजेपछि आँैसी तिथि लाग्ने समितिले जनाएको छ । आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । यसै साँझदेखि यमदीदान पनि सुरु भएको थियो । दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती यसै दिन मनाइएको थियो ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन मङ्गलबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन । पाँचौँ दिन बुधबार गाई पूजा गरिँदै छ । यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ ।

तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन अर्थात् कात्तिक ६ गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । नेवार समुदायले किजापूजा भनेर मनाउने तिहारको मुख्य दिन यस दिन परेको छ । भाइटीका र किजा पूजाको साइत ११ः३९ बजे उत्तम रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *