अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्तहरू स्वीकार गर्न आग्रह गरेका छन् ।
ट्रम्पले पुटिनका प्रस्ताव अस्वीकार गरे युक्रेनले “गम्भीर विनाशको सामना गर्नुपर्ने” चेतावनी दिएका हुन् । गएको शुक्रवार ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीलाई सम्पूर्ण डोनबास क्षेत्र रुसलाई सुम्पिने सर्तमा युद्ध अन्त्य गर्न दबाब दिएका थिए। उक्त भेटअघि ट्रम्पले पुटिनसँग फोनमा कुरा गरेका थिए र वार्ताका क्रममा सोही अडान दोहोर्याएका थिए।
तर, अन्ततः जेलेन्स्कीले ट्रम्पलाई “युद्ध रोकिनु नै सबैका लागि उत्तम विकल्प” भन्नेमा सहमत गराउन सफल भएको बताइएको छ।
भेटपछि संयुक्त रूपमा दुवै नेताले युद्ध यहीँ रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए। रुसी राष्ट्रपति पुटिनले यसअघि ट्रम्पसँगको टेलिफोन वार्तामा खेरसोन र जापोरिझियाका साना भागहरूको बदलामा डोनबास क्षेत्र रुसलाई दिने प्रस्ताव गरेका थिए।
शान्ति प्रक्रियालाई अगाडि बढाउन ट्रम्प र पुटिनबीच आगामी दुई हप्ताभित्र बुडापेस्टमा दोस्रो चरणको शिखर वार्ता हुने सम्भावना रहेको पनि फाइनान्सियल टाइम्सले जनाएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पलाई पुटिनविरुद्ध थप कडा अडान लिन आग्रह गरेका छन्।




