देश

तीनकुनेमा प्रहरीलाई बर्दी खोल्न बाध्य बनाउने आन्दोलनकारी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तीनकुनेमा प्रहरीमाथि भएको हिंस्रक आक्रमणको एक मुख्य पात्र भनेर चिनिएका गौतम घिसिङ पक्राउ परेका छन्। भदौ २४ गतेको घटनामा उनले प्रहरीलाई बर्दी खोल्न लगाएर लखेटेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

त्यो दिन आन्दोलनकारी समूहले प्रहरी चौकीमा आक्रमण गरी हतियार लुट्ने, प्रहरीलाई कुटपिट गर्ने, र केहीलाई बर्दी फुकाल्न बाध्य पार्ने कार्य गरेका थिए। परिस्थिती यति नियन्त्रणबाहिर पुगेको थियो कि कतिपय प्रहरी अधिकारीले ज्यान बचाउन बागमती नदीमा हामफालेका थिए। प्रहरी स्रोतका अनुसार, घटना अध्ययन गरिरहेको विशेष अनुसन्धान टोलीले भिडियो फुटेज र तस्वीरका आधारमा घिसिङको पहिचान गरेको हो। ती प्रमाणहरूका आधारमा उनलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाइएको छ।

घटनाले जेन–जी आन्दोलनमा हिंसा कति गहिरो रूपमा प्रवेश गरिसकेको थियो भन्ने कुरालाई उजागर गरेको छ। शान्तिपूर्ण मागका नाममा हिंसात्मक व्यवहार देखिनु र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण हुनुले आन्दोलनको उद्देश्य र औचित्य दुवैमा प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।

प्रहरीका अनुसार, घिसिङसँगै अन्य संलग्न व्यक्ति पनि खोजी सूचीमा रहेका छन्। अनुसन्धानपछि घटनामा कसको संलग्नता थियो र त्यसको योजना कसले बनाएको थियो भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ। घटनापछि प्रहरी संगठनभित्र सुरक्षाकर्मीको मनोबल र सुरक्षाको अवस्था सम्बन्धमा पनि नयाँ छलफल सुरु भएको छ। समाजमा आन्दोलन र हिंसाको सीमारेखा कता तानिने भन्ने प्रश्नले अहिले पुनः तातो रूप लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *