देश

विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

काठमाडौं । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा आयोजित गरिएको छ।

इजरायलको राजधानी तेल अवीभस्थित खटिभा ८ स्मारक, बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न इजरायलमा रहेका नेपालीहरू भेला भएका थिए। इजरायली विदेश मन्त्रालयको घोषणाअनुसार शव नेपाल पठाउने तयारीका क्रममा विमानस्थलमा औपचारिक श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

जोशीको शव रहेको कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो। श्रद्धाञ्जली दिन पुगेका नेपालीहरू भावविह्वल देखिएका थिए। पुष्पगुच्छा र खादा अर्पण गर्दै उनीहरूले विपिनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सभामा इजरायली प्रशासनका अधिकारीहरू र नागरिकहरू समेत सहभागी भएका थिए।

पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका विपिनको मृत्यु पुष्टि भएपछि घटना समग्र नेपाली समुदायका लागि पीडादायक बनेको छ। उनको शव सोमबार नेपाल ल्याउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइनेछ।

उक्त विमान सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ। श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुग्ने तयारीमा छन्।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा विपिन जोशी बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्थाबारे स्पष्ट जानकारी थिएन। असोज २७ गते (अक्टोबरको अन्तिमतिर) इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

इजरायल–हमास युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि गरिएको थियो भने फरेन्सिक जाँचबाट अपहरणको समयमै उनको मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *