देश

कांग्रेसका महाधिवेशन पक्षधरको प्रश्न: ‘कम्युनिस्टले तोकिसके, हामीलाई केले रोक्यो?’

काठमाडौँ। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्रता पाएको छ। पार्टीका १४औं महाधिवेशनका २ हजार ४ सय ८८ प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन केन्द्रीय कार्यालयमा बुझाएको सन्दर्भमा विशेष महाधिवेशन पक्षधरले आइतबार पत्रकार सम्मेलन गर्दै अविलम्ब महाधिवेशन हुनुपर्ने माग गरेका छन्।

महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समितिको बैठक अनिश्चित रूपमा लम्बिँदा नेतृत्वको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्ने दिशामा रहेको आरोप लगाए। उनले कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताए। आचार्यका अनुसार केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टी नेतृत्व गर्ने धरातल गुमाइसकेको छ र आगामी निर्वाचनमा जान आवश्यकताका कारण विशेष महाधिवेशन माग गरिएको हो।

केन्द्रीय सदस्य गुरु घिमिरेले भदौ २३–२४ का तोडफोड, आगजनी र लुटपाटका घटनासँग आफूहरू सम्बन्धित नभएको स्पष्ट पार्दै ती घटनालाई निन्दनीय ठहराए। उनले मंसिर मसान्तभित्र महाधिवेशन गरी नेतृत्व बदल्न आवश्यक रहेको बताए।

गत असोज २९ गते १४औं महाधिवेशनका प्रतिनिधिहरूले हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए। प्रतिनिधिहरूले पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गरेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *