विश्व

पाकिस्तानी आक्रमणमा अफगानी ३ खेलाडीसहित ५ जनाको मृत्यु

पाकिस्तानले पक्तिका प्रान्तमा गरेको आक्रमणमा परी तीन जना अफगानी क्रिकेट खेलाडीले ज्यान गुमाएका छन्। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले शुक्रबार साँझ भएको यस आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा कवीर, सिब्घतुल्लाह र हारुन नामका तीन खेलाडी मारिएको जनाएको छ। आक्रमणमा अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको बोर्डले बताएको छ।

यस दुखद घटनाप्रति सम्मान र विरोधस्वरूप एसीबीले नोभेम्बरको अन्त्यमा पाकिस्तानसँग हुने त्रिकोणीय टी-२० शृंखलाबाट नाम फिर्ता लिने निर्णय गरेको छ। यो शृंखला नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने तय भएको थियो।

एसीबीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी खेलाडीहरूलाई शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा निशाना बनाइएको थियो।’ बोर्डले अगाडि भन्यो, ‘खेलाडीहरूप्रति सम्मान र यस दुखद घटनाको विरोधमा अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० शृंखलाबाट फिर्ता हुने निर्णय गरेको छ।’

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन। यस घटनाले दुई देशबीचको क्रिकेट सम्बन्धमा थप तिक्तता ल्याउने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *