विश्व

भेनेजुएलाविरुद्ध सिआइएको कारबाहीलाई राष्ट्रपति ट्रम्पको स्वीकृति

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिएको सङ्केत गरेका छन् । साथै उनले दक्षिण अमेरिकी यस राष्ट्रमा भूमिगत रूपमा रहेका कथित ड्रग कार्टेलहरू विरुद्ध स्थलीय आक्रमण गर्ने विकल्पबारे पनि विचाराधीन रहेको बताए ।

राष्ट्रपति ट्रम्पको उक्त टिप्पणीपछि भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोले तीव्र प्रतिक्रिया जनाउँदै ‘सिआइएले गराएको कू’ को घोर निन्दा गरे र क्यारिबियन क्षेत्रमा अमेरिकी नौसैनिक आक्रमणपछि आफ्ना सेनालाई व्यापक सैन्य अभ्यासको आदेश दिए ।

न्युयोर्क टाइम्सले मदुरोविरुद्ध सिआइएलाई गुप्त रूपमा कारबाहीको स्वीकृति दिएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारबारे विस्तृत प्रश्न सोधिँदा राष्ट्रपति ट्रम्पले ‘मैले वास्तवमा दुई कारणले अनुमति दिएँ’ भन्दै मदुरोको सरकारलाई ‘नार्को–आतङ्कवादी शासन’ को संज्ञा दिए । उनले जेलका कैदीहरूलाई मुक्त गरी संयुक्त राज्य अमेरिका पठाएको आरोप दोहोर्‍याए ।

पत्रकारहरूले ‘के उहाँले सिआइएलाई मदुरोलाई हटाउने अधिकार दिनुभएको हो ?’ भनी सोधेको प्रश्नमा उनले भने, “यो प्रश्न नै हास्यास्पद छ । वास्तवमा हास्यास्पद प्रश्न होइन, तर यसको जवाफ दिनु भनेको हास्यास्पद कुरा हो ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका कथित लागुऔषध कार्टेलहरू विरुद्ध समुद्रमा भएका घातक नौसैनिक कारबाहीपछि भूमिमा पनि सैन्य अभियान विस्तार गर्ने सम्भावनाबारे विचार भइरहेको जानकारी दिए । “हामी अहिले भूमिगत विकल्प हेर्दैछौँ किनभने समुद्रमा त हामीले राम्रो नियन्त्रण पाइसकेका छौँ”, उनले ओभल अफिसमा पत्रकारहरूलाई भने ।

हालै क्यारिबियनमा अमेरिकी डुङ्गामाथि भएको आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ । ट्रिनिडाड एन्ड टोबागोका अधिकारीहरूले मारिएका मध्ये दुई जना आफ्ना नागरिक हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको जनाएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रसङ्घलाई ट्रम्पविरुद्ध ‘आपराधिक प्रक्रिया’ सुरु गर्न आह्वान गरेका छन् । उक्त आक्रमणमा कोलम्बियाली नागरिकहरू पनि मारिएको उनको विश्वास छ । विशेषज्ञहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा बिना रोकथाम वा सोधपुछको कारबाही गर्दै घातक बल प्रयोग गर्नु कानूनी रूपमा विवादास्पद भएको टिप्पणी गरेका छन् ।

– शासन परिवर्तनका लागि होइन –

ट्रम्पको टिप्पणी अमेरिकी नौसेनाले क्यारिबियन क्षेत्रमा ठूलो मात्रामा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेका बेला आएको हो । यसलाई वासिङ्टनले लागुऔषध विरोधी अभियानको हिस्सा भएको दाबी गरेको छ । तर ल्याटिन अमेरिकाका धेरै देशले उक्त कदमको आलोचना गर्दै यसलाई भेनेजुएलामा शासन परिवर्तनको प्रयासको रूपमा व्याख्या गरेका छन् ।

राष्ट्रपति मदुरोले गठित समितिलाई सम्बोधन गर्दै भने, “हामी क्यारिबियनमा युद्ध गर्न होइन, शासन परिवर्तन गर्न होइन र सिआइएले गराएको कूलाई समर्थन गर्न होइन ।”

मदुरोले मङ्गलबार हालै भएको कथित लागुऔषध डुङ्गा आक्रमणपछि देशका ठूला सहरहरूमा व्यापक सैन्य अभ्यासको आदेश दिएका थिए । ट्रम्पले सो आक्रमणमा ‘छ जना नार्कोटेररिस्ट’ मारिएको दाबी गरेका थिए ।

मदुरोको निर्देशनमा भेनेजुएलाको सम्पूर्ण एटलान्टिक–क्यारिबियन तटमा अभ्यास सञ्चालन गरियो र कोलम्बिया सिमानासम्मका क्षेत्रमा थप सैन्य तयारीको योजना बनाइयो । टेलिग्राममा प्रकाशित सन्देशमा उनले भेनेजुएलाका ‘पहाड, तट, विद्यालय, अस्पताल, कारखाना र बजार’ को सुरक्षा सुनिश्चित गर्न सेना, प्रहरी र नागरिक मिलिसियालाई परिचालन गरिएको उल्लेख गरे ।

राष्ट्रपति ट्रम्पले मदुरोलाई ड्रग कार्टेलको नेतृत्व गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई मादुरोले पूर्ण रूपमा अस्वीकार गरेका छन् । यसअघि अमेरिकी न्याय मन्त्रालयले मदुरोलाई पक्राउका लागि सूचनाको इनाम पाँच करोड डलरसम्म दोब्बर पारेको थियो ।

ट्रम्पले यसअघि पनि उनले ‘भेनेजुएलामा शासन परिवर्तन हेरेर होइन’ तर मादुरोले गत वर्षको राष्ट्रपति चुनाव चोरेको र त्यसलाई ‘अवैध’ भएको दाबी गरेका थिए ।

गत हप्ता अमेरिका समर्थित विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई भेनेजुएलाको १२ वर्ष लामो शान्तिपूर्ण आन्दोलनको नेतृत्वका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले उक्त पुरस्कार राष्ट्रपति ट्रम्पलाई समर्पण गरेका थिए, जसका लागि ट्रम्प आफैँले पनि खुलेर समर्थन व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *