देश

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच समसामयिक राजनीतिक छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल तथा परामर्श गरेका छन् ।

बैठकमा सहभागी दलका प्रतिनिधिहरूले आ–आफ्ना दलका तर्फबाट वर्तमान परिस्थिति र आगामी कदमबारे दृष्टिकोण र धारणा प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रको रक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै त्यसका लागि सबै दलको सहयोग र सहमति आवश्यक हुनेमा जोड दिए ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेले काँग्रेस लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारे । उनले भने, “प्रतिनिधिसभा विघटनको संवैधानिकताको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत हो । त्यसको निर्णय जे भए पनि हामी निर्वाचनबाट पछि हट्दैनौं ।”

त्यस्तै, नेकपा (एमाले)का पूर्व प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै अदालतको निर्णय नै मार्गदर्शक हुने उल्लेख गरे । उनले भने, “जेनजी आन्दोलनले उठाएका जायज मागहरू संसद्मार्फत सम्बोधन गर्न सकिन्छ । संसद् पुनःस्थापना गरेर राजनीतिलाई मूलधारमा ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो ।”

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उचित वातावरण बनाएमा पार्टी निर्वाचनमा जाने निर्णयमा तयार रहेको बताए । उनले निर्वाचनले मात्र वर्तमान राजनीतिक संकटलाई मूलधारमा ल्याउने र स्थायित्व दिलाउने विश्वास व्यक्त गरे ।

छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका तत्कालीन प्रमुख सचेतक तथा सचेतकहरू सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *