मुख्य समाचार

म र मेरो परिवारमाथि ज्यानै लिने मनसायले हमलामात्र गरिएन, प्रतिष्ठा र छबि गिराउन झुटो प्रचार गरियो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनसायका साथ आक्रमण गरिएको दाबी गरेका छन्।

पार्टी कार्यालय सानेपामा आज (मंगलबार)देखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेको घटनालाई “सांघातिक हमला”का रूपमा चित्रित गरे।

उनका अनुसार सो दिन घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो।“भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे। सुरक्षाकर्मीको घन्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,” देउवाले भने।

देउवाले थपे, “त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन झुटा प्रचार पनि गरियो। यो केवल म वा मेरो परिवारमाथिको आक्रमण होइन, समग्रमा देश, पार्टी र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रहार हो।”

सभापति देउवाले पछिल्ला युवापुस्ता, विशेषगरी जेनजी (Gen Z) का जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
“उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ,” उनले भने।

उनले नेपाली कांग्रेसलाई जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै पार्टी एकता र जनविश्वास मजबुत बनाउने प्रतिबद्धता दोहोर्याए।

स्वास्थ्य कारण देखाउँदै देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *