देश

पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदैछ। सरकारी वकिल कार्यालयले हिजो काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध अभियोग पत्र दर्ता गरेसँगै यो प्रक्रिया अघि बढेको हो।

अभियोगमा महरासँग ८ करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ भने उनलाई ३ वर्ष कैद सजायको माग गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो।

यो प्रकरण २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीसँग सम्बन्धित छ। यसअघि नै मुद्दा चलिरहेको उक्त प्रकरणमा महरालाई पूरक अभियोगमा प्रतिवादी बनाइएको हो।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेपछि अनुसन्धान अघि बढेको थियो। आज सुरु हुने थुनछेक बहसले महरालाई साधारण तारेखमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा राख्ने भन्नेबारे अदालतले निर्णय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *