देश

तिहारका लागि दोधारा चाँदनीमा मादल बनाउने व्यस्तता

दोधारा चाँदनी (कञ्चनपुर) । तिहार नजिकिँदै गर्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ। अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने वादी, दसैँ–तिहारको समयमा मादल बनाउने गर्छन्।

नेपाली सांस्कृतिक पर्वमा मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहारको समय यसको माग उच्च हुने गरेको वादीले बताए। उनले भने, “तिहारमा मादलको मागअनुसार पु¥याउन पनि सकिँदैन। बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुन्छ।”

पछिल्ला वर्षमा तीजमा पनि मादलको माग बढी हुने गरेको भए पनि आधुनिक प्रविधिको बढ्दो प्रयोगले अहिले तीजमा बिक्री घटेको उनले जानकारी दिए। मादलको सानो–ठूलो आकार अनुसार मूल्य दुई हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ।

कच्चापदार्थको उपलब्धता नपर्नु अर्को समस्या हो। मादल बनाउन बाख्राको छाला र काठ (खमारी) आवश्यक पर्छ, तर भारतीय छिमेकी सहरमा पाइने यी सामग्री नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउँदा आपूर्ति कठिन भएको वादीले बताए। भारतीय बजारमा छालाको मूल्य करिब रु एक हजारसम्म रहेको छ, तर यहाँ स्थानीय रूपमा बाख्रा किन्नुपर्ने भएकाले महँगो पर्छ।

वादी समुदायको मुख्य पेशा मादल, ढोलक र दामाहा बनाउनु हो। पर्वमा नाचगान गरी जीविकोपार्जन गर्ने यो समुदाय आधुनिकतासँगै पुख्र्यौली पेशामा चुनौतीको सामना गर्दै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *