वासिङ्टन डिसी (अमेरिका) । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका–नेपाल साझेदारीको मजबुती’ शीर्षकको बिजनेस संवादलाई सम्बोधन गरेका छन्।
कार्यक्रममा मन्त्री खनालले नेपालको हालको आर्थिक स्थिति, लगानी वातावरण र अमेरिकी निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाबारे विचार प्रस्तुत गरे। कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारी तथा अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरूको सहभागिता थियो।
यसअघि मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक बो लिबीसँग भेटवार्ता गरेका थिए। भेटमा नेपालका वित्तीय तथा आर्थिक स्थिति र सहकार्यका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।
भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, मन्त्री खनालका भ्रमण दलका सदस्य, दूतावासका प्रतिनिधि तथा मुद्रा कोषका अधिकारीहरू सहभागी थिए।
अर्थमन्त्री खनाल आइतबार विश्व बैंक र IMF को वार्षिक बैठकमा सहभागी हुन वासिङ्टन डिसी पुगेका हुन्।




