कर्णाली प्रदेश

जुम्लामा हराउँदै धान कुट्ने परम्परागत ओखल

जुम्ला। जुम्लामा परम्परागत धान कुट्ने ओखलहरू हराउँदै गएका छन्। पछिल्ला वर्षमा कुटानी–पिसानीका मिल सञ्चालनमा आएपछि गाउँबस्तीमा ओखल प्रयोगको परम्परा लोप हुँदै गएको हो।

तिला गाउँपालिका–४ की स्थानीय राजकन्या सार्कीका अनुसार पहिले गाउँमा नौवटा ओखल सञ्चालनमा थिए, जहाँ वरपरका बासिन्दा धान कुट्न आउँथे। “अहिले हाम्रो गाउँका केही मात्र ओखलमा कुट्छन्, अरू सबै मिलमै लैजान्छन्,” उनले भनिन्।

सार्कीका भनाइमा आधुनिक मिल सञ्चालनपछि समय र श्रम बचत हुने भएकाले मानिसले ओखलमा कुट्ने काम छोडेका छन्। “पहिले ओखलमा कुट्दा धेरै समय र मेहनत लाग्थ्यो, अहिले मिलमा सजिलो भएको छ,” उनले भनिन्।

तिला–४ का वडाध्यक्ष भद्रवीर सार्कीका अनुसार गाउँका ठाउँठाउँमा मिल सञ्चालनमा आएसँगै ओखल देख्नै कठिन भएको छ। “ओखलमा कुट्दा श्रम र खर्च बढी लाग्ने भएकाले अहिले यो परम्परा हराउँदै गएको छ,” उनले बताए।

कुनै समय जुम्लामा धान कुट्न प्रयोग हुने टिक्के ओखलहरू गाउँको पहिचानको प्रतीक मानिन्थे। तर, आधुनिक प्रविधि र सुविधाको प्रयोग बढेसँगै ती परम्परागत उपकरणहरू क्रमशः लोप हुँदै गएका छन्।

स्थानीयवासीहरूका अनुसार मेहनत र समय दुवै बढी पर्ने भएकाले मानिसहरू अहिले सजिलो उपायका रूपमा मिलमा निर्भर भइरहेका छन्। उनीहरूले भने, “ओखल हराउँदै जानु केवल परम्परा हराउनु होइन, गाउँको पुरानो संस्कृति हराउँदै जानु पनि हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *