पोखरा। पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकलमाथि प्रहरीले कारबाही सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्ला दिनमा चार मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिइ कानुनी कारबाही गरिएको छ। पक्राउ पर्नेमा पोखरा–१० का सुवास कार्की, पोखरा–३ का एल्विन पुन, पोखरा–६ का सञ्जिव दुवाडी र पोखरा–५ का अमृत चापागाईं रहेका छन्।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिँदै आएका छन्।
प्रहरीले यस्ता मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता सुरक्षित गरिने जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति बिना सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, ह्याण्डल, इञ्जिन वा चेसिसमा परिवर्तन गरेमा अधिकतम १५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
प्रहरीका अनुसार यस्ता मोडिफाइड मोटरसाइकलले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणमार्फत सामाजिक असर पनि पुर्याइरहेका छन्।




