देश

‘फ्रि–तिब्बत’ टिसर्ट र नक्कली पेस्तोल प्रकरण : तेन्जेन दावामाथि थप ६ दिनको अनुसन्धान म्याद थप

काठमाडौं । राजधानीमा जेनजी आन्दोलनको क्रममा ‘फ्रि–तिब्बत’ समर्थन अभियानसँग जोडिएको प्रतीकात्मक पोशाक र नक्कली पेस्तोलका कारण विवादमा परेका तेन्जेन दावामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दावामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसरका एक अधिकृतले जानकारी दिएका छन्।

घटना पृष्ठभूमि

गत भदौ २३ गते र २४ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा दावा ‘टीओबी’ टिर्सट लेखिएको टिसर्ट लगाएर नक्कली पेस्तोलसहित देखिएका थिए। सो दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले दावाको घर तलासी गर्दा नक्कली पेस्तोल समेत बरामद गरेको पुष्टि भएको छ। यस घटनाले आन्दोलनको उद्देश्यभन्दा बढी आन्दोलनको स्वरूप र सुरक्षा जोखिम सम्बन्धी प्रश्न उठाएको छ। प्रहरी स्रोतका अनुसार, घटनामा सामेल व्यक्तिको मनोवृत्ति, उद्देश्य र सम्भावित समूहगत प्रभावबारे अनुसन्धान भइरहेको छ। एक वरिष्ठ अधिकारीका शब्दमा, “हामीले यो घटनालाई सामान्य हुलदङ्गा होइन, गहिरो सन्दर्भमा हेरेका छौं। सामाजिक सन्देशका आवरणमा हतियार प्रदर्शन हुनु चिन्ताजनक हो।”

सुरक्षाविद्हरूको मतमा, ‘फ्रि–तिब्बत’ जस्ता संवेदनशील मुद्दा र जेनजी आन्दोलनजस्ता युवा प्रदर्शनबीचको घुलमिलले सुरक्षा र राजनीतिक सन्तुलनमा जटिलता सिर्जना गर्न सक्छ।
यस्ता घटनाले आन्दोलनको विश्वसनीयता कमजोर पार्ने मात्र होइन, राज्य र आन्दोलनबीचको विश्वासको दूरी अझ बढाउने खतरा देखिन्छ।

तेन्जेन दावाको प्रकरणले अहिलेको युवाआन्दोलनमा देखिएको अस्थिरता, भावनात्मक उन्माद र सीमापार राजनीतिक प्रभावको सम्भावना दुवैलाई उजागर गरेको छ। अब प्रहरी अनुसन्धानले यो घटना व्यक्तिगत आवेग थियो वा योजनाबद्ध प्रदर्शन, भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *