काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको एक विमान भारतको लखनऊतर्फ डाइभर्ट गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार, ‘मिस्ड एप्रोच’ (Missed Approach) का कारण विमान अवतरण गर्न नसकेको हो। बैंककबाट काठमाडौंका लागि उडेको ‘टीएलएम २२०’ उडान नम्बरको सो जहाज निर्धारित समयमा काठमाडौं आइपुगे पनि धावनमार्गमा अवतरण गर्न नसकेपछि वैकल्पिक विमानस्थल लखनऊ पठाइएको हो।
विमानस्थल स्रोतका अनुसार, अवतरणका क्रममा आवश्यक सावधानी र सर्तहरू पूरा नभएमा पाइलटले ‘ओभरसुट’ (Overshoot) प्रक्रिया अपनाउँदै जहाजलाई सुरक्षात्मक रूपमा अन्यत्र मोड्ने गर्छन्।
थाई लायन एयरको उक्त जहाजमा रहेका यात्रुहरूको सुरक्षामा कुनै असर नपरेको र विमान सुरक्षित रूपमा डाइभर्ट गरिएको जानकारी दिइएको छ।



