देश

तोरीपानीका पाँच घरमा होमस्टे सञ्चालन

म्याग्दी। बेनी नगरपालिका–९ तोरीपानीमा पाँच घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । पर्यटन प्रवर्द्धन, स्थानीयको आयआर्जन वृद्धि र रोजगारीका अवसर सृजनाका लागि होमस्टे सुरु गरिएको हो ।

होमस्टे समूहकी अध्यक्ष सीता खत्रीका अनुसार पहिलो चरणमा पाँचवटा घरमा २१ जना पाहुनालाई बस्न सकिने सुविधा तयार भएको छ । “पाहुनाका लागि कोठा र शौचालयलगायतका पूर्वाधार तयार भएका छन्,” उनले भनिन्, “इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका सामग्रीलगायत करिब छ लाख रुपैयाँ बराबरका सामग्री सहयोग गरेको छ ।”

जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेत्रीका घरमा होमस्टे सुरु भएको हो । संस्था दर्ता भइसकेको र दोस्रो चरणमा थप घरमा पनि सञ्चालनको तयारी भइरहेको समूहले जनाएको छ ।

समुद्री सतहदेखि १,७५० मिटर उचाइमा रहेको तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । टिमुरखेतीका लागि प्रसिद्ध तोरीपानीको वरिपरि टोड्के, ढोलथान दरबार र पछैजस्ता पर्यटकीय र धार्मिक स्थल छन् ।

बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रे र स्तरोन्नतिको काममा रहेको छ । त्यसैगरी ढोलथान दरबार जोड्ने सडकको स्तरोन्नतिको योजना संघीय सरकार र नगरपालिकामार्फत सञ्चालनमा छ ।

वडाध्यक्ष चक्र केसीका अनुसार घरबास सञ्चालनले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *