खोटाङ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भएपछि खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि युवामाझ चहलपहल बढेको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले असोज ९ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेको छ। जिल्लाका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका छन्।
जिल्लामा दश स्थानीय तह रहेका छन् र दैनिक १५–४० जनासम्मले मतदाता नामावली दर्ता तथा अद्यावधिक गरिरहेका छन्। निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरका अनुसार, नयाँ दर्ता गर्न चाहनेले अनलाइन फाराम भरेर बायोमेट्रिक प्रक्रिया पूरा गर्न कार्यालयमा आउनुपर्नेछ भने अद्यावधिक गर्न चाहनेले अनलाइन माध्यमबाट प्रक्रिया सम्पन्न गर्न सक्नेछन्। कार्यालय बिहान ८ बजेबाट बेलुका ६ बजे सम्म खुला रहनेछ।
मतदाता नामावलीका लागि अनलाइन फाराम भर्न नजान्ने, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई कार्यालयले सहजीकरण गर्ने व्यवस्था गरेको छ। जिल्लामा मतदाता नामावली दर्ता गर्न आउने अधिकांश नागरिक १६–२५ वर्ष उमेर समूहका छन्। आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष पुरा हुने मतदाताको संख्या एक लाख ४४ हजार ४२९ पुगेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा करिब हजार जना मतदाता थपिने अनुमान गरिएको छ। निर्वाचन आयोगले १६ वर्षमाथिका नेपाली नागरिकलाई आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरेको छ। माओवादी केन्द्रले पनि आफ्ना कार्यकर्तालाई मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आह्वान गरेको छ।



