देश

दैजी–जोगबुढा सडक : पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका दैजीबाट जोगबुढा हुँदै डडेल्धुरासम्म जाने सडक पञ्चायतकालमा खोलिएको भए पनि हालसम्म पूर्ण रूपमा कालोपत्र भएको छैन।

यो सडक तराईका जिल्लाबाट सुदूरपश्चिमका पहाडी जिल्लासम्म पुग्ने छोटो मार्गको रूपमा रहेको भए पनि प्राथमिकता नपाउँदा निर्माण सुस्त भएको छ। १२ किलोमिटर सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर मात्रै कालोपत्र गरिएको छ।

निर्माणको म्याद २०७६ साउन ५ गतेमा सम्पन्न गर्नुपर्ने भए पनि पूर्ण निर्माण हुन सकेको छैन। पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते म्याद थप गरेको भए पनि सडक अझै अधुरो छ। गत आर्थिक वर्षमा काम नहुँदा रु एक करोड बजेटसमेत फ्रिज भएको थियो।

कार्यालय प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार चालु आवमा रु ५० लाख बजेट आएको छ र अहिले मर्मत कार्य भइरहेको छ। हालसम्म पाँच किलोमिटर सडक मात्र कालोपत्र भएको छ र बाँकी सात किलोमिटर सडक निर्माणको काम बाँकी नै छ। निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख भुक्तानी पाइसकेको छ।

स्थानीयहरू सडक नहुँदा हिउँदमा धुलाम्य र बर्सातमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वेदकोट नगरपालिकाका केशव बोहराका अनुसार जोगबुढासम्मको ३१ किलोमिटर सडक नहुँदा १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ।

नगरप्रमुख भोजराज बोहराले पनि ट्रयाक खुलेपनि सडक निर्माण नहुँदा स्थानीयले जोखिम भोग्नुपरेको र केही वर्षअघि सडकका संरचना पहिरोले भत्किएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *