देश

घोडाघोडीमा युवकको हत्या, टाउको बोकेर प्रहरीसामु आत्मसमर्पण

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा आपसी विवादले डरलाग्दो रूप लिँदा एक युवकको हत्या भएको छ । शुक्रबार राति खाजा खाने क्रममा भएको सामान्य विवादले २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुई जनाले भने मृतकको टाउकोसहित प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारीअनुसार सुर्खेत, चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले शुक्रबार राति नै इलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेका हुन् ।

उनीहरूले धारिलो हतियारले रेटिएको बुढाको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि प्रहरीसमेत चकित परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार, मृतक बुढा र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा उनीहरूबीच सामान्य विवाद भएको र विवाद चर्किएपछि धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । हाल घटनास्थलबाट शव उठाइएको छैन । मृतकका आफन्त सुर्खेतबाट आउँदै गरेको र उनीहरू आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *