देश

सभापति देउवाको विकल्प खोज्ने अवस्था छैन : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था अहिले नरहेको बताएका छन्।

कांग्रेसका शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्दै सिटौलाले अहिलेको राजनीतिक सन्दर्भमा सभापति देउवाको नेतृत्वमाथि प्रश्न उठाउनु उचित नहुने धारणा राखेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा छैनन्। ती नेताले सिटौलाको भनाइ उद्धृत गर्दै भने, “अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नुपर्ने अवस्था म देख्दिन।”

पार्टी पुनर्गठन र नयाँ नेतृत्वसहित चुनावमा जाने विषयमा विभिन्न धारणा उठिरहेका बेला सिटौलाले देउवाको पक्षमा स्पष्ट रूपमा समर्थन व्यक्त गरेका हुन्।

देउवाको विकल्प खोज्ने नेताहरूलाई सिटौलाले प्रश्न गरेका थिए, “अस्तिसम्म शेरबहादुर देउवा ठीक, अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँले छोड्नुपर्ने भन्ने किन ?”

संसद् पुनर्स्थापनाको पक्षमा सक्रिय रहँदै आएका सिटौलाले आजको बैठकमा भने सो विषयमा केही नरम भाषा प्रयोग गरेको सहभागी नेताको भनाइ छ। उनले भने, “संसद् पुनर्स्थापनाबारे सिटौलाको आजको बोली पहिलेभन्दा केही नरम थियो।”

सिटौलाले अहिलेको राजनीतिक परिस्थितिमा सहज रूपमा निर्वाचन हुने अवस्था पनि नरहेको बताएको सहभागी नेताले जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *