देश

शुक्लाफाँटामा वन्यजन्तु चोरी–शिकारी नियन्त्रणमा चुनौती

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहमा पछिल्ला दिनमा वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका छन्।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी गर्दै आएका छन्। उनीहरूले वन्यजन्तुका बच्चा समेत समात्ने कार्य गरेको बताइएको छ।

त्यससँगै वन सिमानाका तारबार भत्काउने, अनुमति बिना घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रलाई अनधिकृत चरिचरनका रूपमा प्रयोग गर्ने कार्य पनि दोहोरिएको छ।

अध्यक्ष महराका अनुसार वनभित्रका नदीनालामा विषादी र विद्युत् प्रयोग गरी माछा मार्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ। चोरी–शिकारी नियन्त्रणका लागि जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र अन्य निगरानी उपकरण समेत तोडफोड गरिएको उनले बताए।

वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा र रातो माटो उत्खनन भइरहेको समेत उनले उल्लेख गरे।

“गैरकानुनी गतिविधि रोक्न सार्वजनिक सूचना प्रकाशित गरेका छौँ,” अध्यक्ष महराले भने, “तर त्यस्ता कार्य रोकिएन भने वन ऐन, २०७६ र समूहको विधानअनुसार कानुनी कारबाही गर्न बाध्य हुनेछौँ।”

सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीले वन्यजन्तु र वन पैदावार चोरी–शिकारी नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *