सिन्धुली । यही भदौं १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग आजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ । विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।उनका अनुसार काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ ।
भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । मन्त्री घिसिङको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीले काम गरिरहेका थिए ।
सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।



