खोटाङ। खोटाङका युवाहरूले चाडपर्वका अवसरमा सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा पाएका छन्।
नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालित अभियानमा जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत सेवा दिएका हुन्। उनीहरूले छोरीचेलीलाई घरदेखि माइतीघर, माइतीघरदेखि घर र मावलीसम्म लैजाने र फर्काउने सुविधा उपलब्ध गराएका थिए।
दसैँको टीका (असोज १६ देखि १९) अवधिमा सञ्चालन गरिएको अभियानका क्रममा ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई निःशुल्क सेवा दिइएको थियो। यस क्रममा ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा जीप प्रयोग गरिएको थियो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपमार्फत सेवा दिइएको युवा समूहले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ र रावाबेँसीबाट २२ जनाले सेवा लिएका थिए।
संयोजक राईका अनुसार पहाडी भूगोल, कच्ची सडक र अवरुद्ध यातायातका कारण घर–माइती आवतजावतमा कठिनाइ हुने भएकाले मानवताकाे भावनाबाट अभियान सञ्चालन गरिएको हो। उनले भने, “बिनास्वार्थ छोरीचेलीलाई समयमै गन्तव्य पुग्न सहज होस् भन्ने उद्देश्यले अभियान चलाएका हौँ।”
अभियानका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय स्थापना गरिएको थियो। मौसम र सञ्चार पहुँचमा समस्या भएकाले सम्पर्कका लागि सचिवालयबाट समन्वय गरी सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले बताइन्।
गत वर्ष पनि यही अभियानमार्फत ४१५ जना छोरीचेलीलाई निःशुल्क यातायात सेवा दिइएको थियो। समूहले यस वर्ष तिहारका लागि कात्तिक ५ देखि ७ गतेसम्म अभियान सञ्चालन गर्ने तयारी गरेको छ र करिब एक हजार छोरीचेलीलाई सेवा पुर्याउने लक्ष्य राखिएको छ।



