काठमाण्डौं । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरेको छ ।
आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै, प्रहरीबाट प्राप्त जाहेरीलाई फिर्ता पठाइएको जानकारी दिएको हो ।
जाहेरी, भदौ २३ र २४ गतेको घटनामा आधारित थियो, जसमा जेनजी पुस्ता आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको विरूद्ध कार्यवाही गर्न माग गरेका थिए ।
रसिक खतिवडाका बुवा पुरूषोत्तम खतिवडा लगायत चार जनाले असोज २१ गते प्रहरीमा जाहेरी दिएका थिए, र उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगलाई पठाएको थियो ।
आयोगले फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन भन्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ।





