देश

तेह्र लाखभन्दा बढी नगदसहित १४ जना पक्राउ

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपियाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार रेस्टुरेन्टको दोस्रो तलामा रहेका हल कोठामा तास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो । छापा मार्ने क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग भएका दुई गड्डी खोलिएका र आठ गड्डी नखोलिएका तास, रातो र सेतो रङका पर्दा दुई थान तथा नगद १३ लाख ६३ हजार ८०० रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बुधबार राति करिब साढे १२ बजे उक्त रेस्टुरेन्टमा छापा मारेको थियो ।

पक्राउ परेकाहरुमा विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, रमेश शाही, संगम शाह छन् । सोही प्रकारले मधुसूदन दाहाल, मेघराज गौतम, रमेश शाही, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

उनका अनुसार पक्राउ परेकाहरू बाँकेको विभिन्न स्थानीय तहका बासिन्दा हुन् । उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुवा तास खेल्ने कार्य सामाजिक अपराध अन्तर्गत पर्ने भएकाले यसलाई नियन्त्रणमा ल्याउन प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।”

प्रहरी नायब उपरीक्षक पातलीका अनुसार पछिल्लो समय नेपालगन्जका रेस्टुरेन्ट, होटल र निजी घरहरूमा जुवातास खेल्ने प्रवृत्ति बढ्दैगएको कारण प्रहरीले अनुगमन र निगरानीलाई अझ कडाइका साथ अघि बढाएको छ ।

प्रहरीले सामाजिक अनुशासन, शान्ति–सुरक्षा र सद्भाव कायम राख्न नागरिकलाई यस्ता अवैध क्रियाकलापबाट टाढा रहन र जानकारी भएमा तुरुन्त सूचित गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *