काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अखिलका पूर्वअध्यक्ष समिक बडाल, महासचिव दीपक धामीलगायतका नेताहरूले परिसर पुगेर जाहेरी बुझाएका थिए । तर प्रहरीले जाहेरीमा ‘केरमेट’ (अस्पष्टता) भएको भन्दै दर्ता नगरी २४ घण्टापछि जवाफ दिने बताएको थियो ।
परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, जाहेरी स्पष्ट नभएकाले अघि बढाउन नसकिएको हो । ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । त्यसैले जाहेरीलाई अघि बढाइएको छैन,’ भट्टराईले भने ।
अखिलले सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसीजस्ता तीन विषयलाई लिएर जाहेरी दिएको जनाएको छ ।
पूर्वअध्यक्ष बडालका अनुसार, प्रहरीले बुझ्न नसकेको बताएपछि अहिले फेरि अखिलका नेताहरू छलफलका लागि परिसर पुगेका छन् । ‘हाम्रा केही नेताहरू अहिले छलफलका लागि परिसरमा छन्,’ बडालले भने ।



